काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गरेका हुन् । उनले नेविसंघकै कारण अहिले त्रिभूवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए ।
उनले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए । सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्याइएको बताए ।
उनले भने, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन । त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सहप्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभूवन विश्वविद्यालय अस्तव्यस्तको दिशामा अघि बढेको छ । यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ । नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि.वि.संघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म पस्ताव गर्न चाहन्छु ।’
सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० वर्ष माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएकाआरोप लगाए । उनले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताए ।

प्रतिक्रिया