प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आएपुगेका लुले शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुईपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तरता हुने विश्सास प्रधानमन्त्री देउवाले व्यक्त गरेको जनाइएको छ ।

लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत् र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रदान भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले ट्विटरमार्फत निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् । लुले प्रधानमन्त्री देउवालाई भेट्नुअघि परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।