बलात्कार आरोपीको महायज्ञमा मन्त्री र महान्यायाधिवक्ता सहभागी भएकोमा एमालेको आपत्ति


काठमाडौं । नेकपा एमालेले बलात्कार आरोपी सिद्धाबाबाको नेतृत्वमा पशुपति परिसरमा भइरहेको महायज्ञमा सरकारका अधिकारी सहभागी भएको भन्दै विरोध गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद शिवमाया तुङ्वाहाम्फेले विरोध जनाएकी हुन् । उनले भनिन्, ’पशुपतिनाथ परिसरभित्र ९ दिने महायज्ञ भइरहेको छ। त्यहाँ आफ्नै अनुयायीलाई बलात्ककार गरेको आरोप लागेका कृष्ण गिरी सहभागी छन्। अदालतमा मुद्दा विचाराधीन छ। तर सरकारका मन्त्री र महान्याधिवक्ता उपस्थित भएका छन्। यसमा हाम्रो आपत्ति छ।’

महायज्ञमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की र महान्यायधिवक्ता खम्महादुर खातीसहभागी भएका थिए। उनले मन्त्री र महान्याधिवक्ताले नै बलात्कार आरोपीलाई संरक्षण गरेकोमा पीडित र आम महिलाले महसुस गर्ने मनोविज्ञान बुझ्न आग्रह गरेकी छिन् । पुर्पक्षका लागि थुनामै पठाउनु पर्ने व्यक्ति साधारण तारेखमा छुटाउने न्यायाधीशको कार्य सम्पादनका विषयमा पनि प्रश्न उठिरहेको उनले बताइन्।

बलात्कार आरोपीलाई गुरु मान्ने सरकार पक्षका जिम्मेवार व्यक्तिमाथि समेत प्रश्न उठेको भन्दै उनले आरोपितलाई प्रश्रय दिएर पीडित पक्षलाई अन्याय गर्न नमिल्ने बताइन् । उनले भनिन्,’यसले पीडितमा मनोवैज्ञानिक असर पर्यो कि परेन होला ? अब उप्रान्त गुरुको आज्ञामा चल्ने भन्दै औंठाछाप हानिरहँदा पीडित पक्षले के सोचे होलान्?’