काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि हुनुपर्ने उल्लेख गरेकी छन् ।
विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनुपर्ने बताएकी हुन् । उनले प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।
जुलाई २९ तारिखका दिन संसारभर ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने संकल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ । नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा यसैवर्ष भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।
जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भइरहेको छ ।
राष्ट्रपति भण्डारीले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय भएको उल्लेख गरेकी छन् । हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ ।
उनले बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम् उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेकी छन् ।

प्रतिक्रिया