जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले लोसपा गठबन्धनमा सहभागी भए स्वागत गर्ने बताएका हुन् ।
उनले भने, ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ । हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’ उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उनले मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको भन्दै अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए । अध्यक्ष यादवले मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा लोसपाका नेताहरूलाई एकतामा आउन आह्वान गरेका थिए । अध्यक्ष यादवले पाँच दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए ।
उनले सदनबाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिंदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने पनि बताए ।

प्रतिक्रिया