गठबन्धन भत्काउन देशी विदेशी शक्ति सक्रियः प्रचण्ड


रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको तागतमा चुनावमा जाने र परिणाम आफ्नो पक्षमा पार्ने बताएका छन् ।

सोमबार रोल्पामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनको बलमा नभई आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने बताएका हुन् ।

उनले सबै दलले चुनावबाट आफ्नो पक्षमा परिणाम ल्याउन लागि परेका बताए । उनले भने, ‘हामीले पनि आफ्नो पार्टीले आफ्नै खुट्टामा टेकेर, आफ्नै बलको तागतमा चुनावमा जाने हो । गठबन्धनको भर परेर होइन आफ्नै तागतमा चुनाव लड्ने हो ।’

उनले गठबन्धन र तालमेल समेत गर्न सकिने बताए । महानगर, उपमहानगर र जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहमा गठबन्धन र तालमेल गर्दा राम्रो हुनेबारे छलफल चलिरहेको बताए । कांग्रेसको केन्द्रीय समितिको बैठकका अधिकांश सदस्यले समेत तालमेल र गठबन्धन गरेर जानेबारे बोलिरहेको तर्फ संकेत गर्दै गठबन्धन हुनेतर्फ संकेत पनि गरे ।

विषेश राजनीतिक परिस्थितिमा बनेको गठबन्धन भएको जिकिर गर्दै प्रचण्डले गठबन्धन भत्काउन देशी विदेशी शक्ति लागिपरेको समेत आरोप लगाए ।