एमसीसी देश विकासको सहयोगी परियोजनाः प्रधानमन्त्री
खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए ।
एमसीसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले जानकारी दिए । “केही व्यक्तिहरु एमसिसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्”, उनले भने, “एमसिसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुर्याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।”
प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गरे ।
“खोटाङ जिल्ला कृषि पर्यटनको राम्रो सम्भावना बोकेको जिल्ला हो”, उनले भने, “जिल्लामा उत्पादित कृषि उत्पादनलाई बाहिरी जिल्लामा निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।”
प्रधानमन्त्री देउवा समक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवं नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गरे ।
गाउँपालिका प्रमुख एवं महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, फोक्सिङ्टार पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुल (धाप्लाङ्घाट र रानीटार) को निर्माणाधीन पक्की पुल यथाशीघ्र सम्पन्न गराउन, सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन र विद्युतीकरण हुन बाँकी जिल्लाका विभिन्न ठाउँमा तत्काल विद्युतीकरण गराइदिन प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश गरेका हुन् । मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।