महानगरका नीति, योजना र निर्णयमा कुनै विवाद छैनः मेयर शाक्य


काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जानकारी गराएका छन् । महानगरका क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न लिइएका नीति, बनाइएका योजना र त्यसको कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा पत्रकारलाई जानकारी गराउँदै शाक्यले यस्तो बताएका हुन् ।

उनले केही पुराना योजनालाई लिएर मात्रै आलोचना गरिएको पनि बताए । जनप्रतिनिधिका रूपमा पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुनर्निर्माण, संरक्षण र प्रवद्र्धनका लागि गरेका कामका विषयमा शुक्रबार पत्रकारसम्मेलन गरी उनले जानकारी गराए ।

“संस्थागत निर्णयमा गर्दा पदाधिकारीबीच छलफल र परामर्श हुन्छ, महानगरका निर्णय गर्ने, योजना बनाउने पद्धति छ, जिम्मेवारी छ, त्यसैअनुरूप भएका कुनै पनि योजनामा विवाद छैन, हामीले सम्पदा संरक्षण र प्रवद्र्धनका काम गर्दा प्राचीन स्मारक ऐन, २०१३ को कानूनी व्यवस्थालाई नाघेका छैनौँ”, प्रमुख शाख्यले भने ।

उनका अनुसार भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाको पुनःनिर्माण गरिसकिएको छ । ती भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित रहेका र त्यसलाई चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, वेशभूषा, खाना तथा चलनलाई लोप हुन नदिनका लागि विशेष ध्यान दिइएको उनले बताए ।

प्रमुख शाक्यले भने, “महानगरले सम्पदा क्षेत्रमा वार्षिक एक अर्बभन्दा बढी रकम विनियोजन गर्ने गरेको छ, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ को नारालाई सार्थक बनाउन कला, भाषा, साहित्य, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन, निर्माण एवं पुनः निर्माणको कामलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौँ ।”

महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाभित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकासलगायतका काम भएको छ ।

उनले निर्वाचित हुनुअघि नै कार्यान्वयनमा आएका योजनालाई लिएर आलोचना गर्ने काम भएको गुनासो गरे । रानीपोखरी पुनःनिर्माणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रमुख शाक्यले यहाँको पुनःनिर्माणको काम आफू प्रमुख भएर आउनुअघि नै सुरु भएको उल्लेख गरे ।