निर्वाचनका लागि अब ‘वार’ शुरु भइसक्योः गगन थापा


पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । शुक्रवार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसलाई पहिलो दल बन्न कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले कांग्रेस तालमेल वा कसरी चुनाव लड्छ भन्ने कुरा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुने बताए । उनले भने, ’२०७४ सालको चुनावमा हाम्रो अवस्था कस्तो थियो हामीले बुझ्नुपर्छ। हामीले पार्टीभित्रको एकता र उत्साह कायम राख्न सके र क्याम्पेन राम्रो गरे सानदार ढंगले हामी पहिलो पार्टी बन्छौ। स्थानीयमा पहिलो बनेपछि आम निर्वाचनमा सजिलो हुन्छ ।’

महामन्त्री थापाले चुनाव तोकिएकै समय हुने ठोकुवा गरे। निर्वाचनका लागि अब ’वार’ शुरु भइसकेको थापाले बताए। ’वारको बेला शुरु भइसक्यो। हामी कहाँ कसरी लड्ने भन्ने तयारी गर्ने बेला भइसक्यो। अब जम्म ७४ दिन बाँकी छ।’ कांग्रेसले फागुनको अन्तिम साताबाट चुनावी अभियान शुरु गर्ने उनले बताए।