जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दैै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुख्यमन्त्री कार्यालयमा छापा मार्नु त्यसैको उदाहरण भएको बताएका हुन् ।
आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘यो त संस्थामाथिको हमला हो । प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’
उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताए । उनले भने, ‘त्यो बजेटको व्यवस्थापन कसले गरेको ? मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन ।’
उनले प्रदेशसभा सदस्यहरु नै आफ्नो लागि न्यायाधीश हुने बताए । संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने सुरु देखिको खेल अन्तर्गत प्रदेश २ लाई नै बारम्बार निशाना बनाउँदै आएको उनको भनाइ थियो ।

प्रतिक्रिया