राप्रपा नेता केसीको निधनमा अध्यक्ष थापाद्वारा शोक व्यक्त


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दोलखाका प्रभावशाली युवा नेता तीर्थवहादुर केसीको कोभिड संक्रमणको कारण गएराति धुलिखेल अस्पतालमा उपचार क्रममा निधन भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दोलखाका संस्थापक अध्यक्षसमेत रहेका केसी नेपाल चेम्बर अफ कमर्स दोलखाका वरिष्ठ सल्लाहकार तथा त्यस क्षेत्रका निर्माण व्यवसायी समेत थिए। निर्माणाधिन दोलखा रंगशाला उनको कम्पनीले निर्माण गरिरहेको छ। पूर्वजिल्ला विकास समितिका सदस्य समेत रहेका केसी अत्यन्त भद्र र शालीन व्यक्तित्वको रुपमा परिचित थिए ।

उनको निधनमा राप्रपा अध्यक्ष कमल थापाले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले होनहार राष्ट्रवादी योद्धा गुमाएको बताएका छन् ।

राप्रपा वरिष्ठ नेता वुद्धिमान तामाङ,सांसद राजेन्द्र लिङदेन,कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौला, विजय खड्का,शोभित उप्रेती ,प्रवीण थोकर,जिल्ला संयोजक राजन शिवाकोटीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आजै स्वर्गीय केसीको पार्थिव शरीरमा राप्रपा नेतहरू सुन्दर प्रकाश खडक,शिव केसी ,विष्णु श्रेष्ठ ,देववी वुढाथोकी लगायतले गृहजिल्लाको चरंगे घाटमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उक्त अवसरमा राप्रपा कार्यकर्ता तथा भिमेश्वर नगरवासीहरूको उल्लेख उपस्थिति रहेको थियो । स्वर्गीय केसीको श्रीमती र दुई छोरी छन् ।