तोकिएकै समयमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने पौडेल पक्षको निष्कर्ष


काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।

महाराजगंजस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार बसेको पौडेल पक्षीय नेताहरुको बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।

तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताए । उनले त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने बताए ।

बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धि विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने बताए । पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यताको विवाद समाधानका लागि दुई दिनसम्मको समय लिन सकिने आफूहरुको धारणा रहेको बताए ।