लोहनीको प्रश्नः अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवन भित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोल्ने कि ?


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिको भूमिकाप्रति प्रश्न उठाएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष लोहनीले राष्ट्रपतिको काम कर्तव्य नेकपा एमालेको झगडा मिलाउने हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले कांग्रेस र जसपाभित्र पनि झगडा भएकाले त्यो मिलाउन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यू नेकपा एमालेको विवाद मिलाउन सक्रिय हुनुहुन्छ भन्ने खबर पढियो । यस को अर्थ के अब संवैधानिक राष्ट्रपतिको काम –कर्तव्य दलहरुबीचको अन्तरिक झगडा मिलाउनु हो ? यदि हो भने जसपा भित्र पनि झगडा छ । अब त्यो मिलाउन पनि राष्ट्रपति सक्रिय हुनु पर्ने होइन र ? अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउला जस्तो छ । त्यो राष्ट्रपति महोदयले अब कैले मिलाइदिने ? अझ मेरो सम्माननीयज्यूमा सुझाव छः अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवन भित्र “पार्टी विवाद मिलन केन्द्र“ खोलेर त्यस को नेतृत्व राष्ट्रपतिज्यूले गरे संविधान अनुकुल हुने हो कि ?’