जसपाका कार्यकारिणी समितिका सदस्यहरु सनाखतका लागि निर्वाचन आयोगमा


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतासम्बन्धी विवादमा आज निर्णय लिँदैछ । त्यसका लागि आयोगले जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ ।

सनाखतका लागि दुबै पक्षका नेताहरू आयोगमा पुगेका छन् । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेताहरूलाई छुट्टाछुट्टै लाइनमा राखिएको छ । यसअघि आधिकारिकताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए भने त्यसमा महन्थ ठाकुरले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

यस विषयमा आयोगले इजलास गठन गरेर सुनुवाइ गरेपछि हेड काउन्टकै आधारमा निर्णय गर्ने तय गरेको थियो । यसैबीच, महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ ।

सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिए ।