गैरजिम्मेवार काम गरेपछि ओलीको बहिर्गमनः नेता सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्षी दल नेकपा एमालेलाई चेतावनी दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ?भनि प्रश्न गरेका हुन् ।

उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हट्न बाध्य भएको दावी समेत गरे । उनले भने, ‘आफूले कार्यपालिकाको नेतृत्व गर्दा विधि र नियम मिच्ने, अनि जबर्जस्त विधि र प्रक्रिया नअपनाई निर्वाचनमा जान प्रयास गर्ने, त्यसपछि दलहरुले मिलेर कानुनी र राजनीतिक दुवै बाटोबाट लडाई लडी संविधानको रक्षा गर्दा विधिको कुरा गर्ने ?’

नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढ्न सुझाव दिए ।

उनले कोरोना खोपको आवश्यक व्यवस्थापन गर्न, मुलुकमा भाइरसकै रुपमा रहेको भ्रष्टचारको अन्त्य गरी मुलुकको संकट समाधान गर्न प्रधानमन्त्री देउवालाई सफलता मिल्ने विश्वास समेत व्यक्त गरे । नेता सिंहले जनतालाई राहत दिने तथा संघीयतालाई संस्थागत गराउने गरी ल्याइएका विधेयकहरुलाई संसदबाट छिटो पारित गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।