प्रधानमन्त्री देउवाले संसदमा आजै विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन् । संसद सचिवालय स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हुन् । देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

तर अहिले उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन् । देउवा सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले अब उनी विश्वासको मत लिन असफल भए उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ । तर आन्तरिक विवादका बाबजुद एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ।