केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कार्वाही गर्न देउवाको निर्देशन


काठमाडौं । पार्टीका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कार्वाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले अनुशासन समितिलाई निर्देशन दिएका छन् ।

शनिबार सभापति देउवाको सभापतित्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको छलफल एवं परामर्श पश्चात कृयाशील सदस्यता छानविन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कार्वाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिएका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट भएको थियो । सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएको समूहले आफूलाई कुटपिट गरेको घिमिरेले बताएका थिए ।