दीपक मनाङेलाई खेलकुद र आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी


गण्डकी । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् ।

यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् । यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए ।

अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान लिँदै आएका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन् ।