दल दर्ता खारेज भन्ने दुष्प्रचारमा नपर्न माओवादी केन्द्रको आग्रह


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता खारेजी भन्दै दुष्प्रचार गरेकोमा आपत्ति जनाएको छ ।

माओवादी केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै त्यसरी निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्ने भएको स्पस्ट पारेका छन् ।

माओवादीले केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने मनसायले यसरी दुष्प्रचार गरेको प्रस्ट भएको पनि जनाएको छ । पूर्व माओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतले माओवादी केन्द्र अवैधानिक भन्दै दल दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।