लोकतन्त्र पक्षधर शक्तिको बृहत्तर एकता गराउने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन आगामी १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश अधिवेशन भाद्र १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरु व्यक्तिहरु जोडिन चाहनुुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता गराउने निर्णय बैठकले गरेको छ ।’

उनले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरुको विषयमा छलफल भइरहेको पनि बताए ।