काठमाडौं । प्रदेश दुई सरकारमा सहभागी हुन नेपाली कांग्रेस र जसपाबीच दुई बुँदे सहमति भएको छ । बुधबार दुई दलबीच दुई बुँदे सहमति भएको हो । जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र कांग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले हस्ताक्षर गरेको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ ।
सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ । यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमतिपत्रमा उल्लेख छ । यस्तै जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।
आन्तरिक सहमतिअनुसार काँग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउने बताइएको छ । कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाम दिए भने आजै साँझ सपथग्रहण हुने बताइएको छ ।


प्रतिक्रिया