मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकता सिक्न भीम रावलको आग्रह


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकताको शिक्षा लिनुपर्ने बताएका छन् ।

मंगलबार प्रदेशसभा समक्ष मुख्यमन्त्री भट्टलाई विश्वासको मत पाएकोमा बधाई दिँदै रावलले विधि विधान मिच्नेलाई नैतिकताको शिक्षा लिन सुझाएका हुन् ।

उनले भनेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

मंगलबार संसद बैठकमा भएको मत विभाजनमा भट्टले विश्वासको मत पाएका छन् । भट्टका पक्षमा ३० मत परेको थियो । उनले नेकपा एमालेको माधव नेपाल पक्षले सघाएको थियो ।