राप्रपामा पनि विवादः दुई अल्छी घोडाको चेपुवामा परें भन्दै कमल थापाले लेखे यस्तो स्टाटस


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि विवाद देखिएको छ । पार्टी अध्यक्ष कमल थापाले सामाजिक संजालमार्फत अरु दुई अध्यक्षका कारण आफू चेपुवामा परेको बताएका हुन् ।

उनले दुई अल्छी घोडाको बीचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला ? भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्रगति लिन सक्दैन। । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन,तर तिव्रगति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो।गतिहिन नै होला भन्ने सोचिएन । दुई अल्छी घोडाको बीचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला ?च्यापिएर थलापर्न बेर छैन ।’

सरकारमा जाने विषयमा राप्रपामा विवाद छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष थापासँग भेट गरी सरकारमा सहभागी हुन आग्रह गरेको खबर सार्वजनिक भएको थियो । तर अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले यसबारेमा विमति राखेको बताइन्छ ।