गिटी बालुवा निकासी गर्ने जनविरोधी निर्णय तुरुन्त खारेज गर्न प्रचण्डको माग


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय बजेटमा समेटिएको भन्दै आपत्ति जनाएका छन् ।

सचिवालयमार्फत अध्यक्ष प्रचण्डले जनविरोधी निर्णय तुरुन्त खारेज गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

अध्यादेशमार्तफ ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोबास गराउने, वन क्षेत्रमा होटल, मोटल, रिसोर्ट खोल्ने लगायत ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बताइएको छ । सर्वत्र विरोध भएपछि अर्थ मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ ।