माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए ।

उनले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे । उनले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको अरोप लगाए ।

प्रधानमन्त्रीले भने, ‘नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’

उनले पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको बताए । प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुसासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताए ।

समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधि विरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गरे ।