धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् ।
सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् । यस्तै भट्टले एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त गरेका छन् । सुनार माओवादी केन्द्रका सांसद हुन् भने अरु एमाले सांसद हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ गराएका हुन् ।
यसअघि कायम रहेका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पदबाट राजीनामा दिएका थिए । सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । सामाजिक विकासमा एमालेका खड्का र उद्योग पर्यटन वन तथा वातावरणमा माओवादी केन्द्रका धामीलाई जिम्मेवारी तोकिएको हो ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका प्रकाशबहादुर शाहलाई आर्थिक योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पूर्णा जोशीलाई दिइएको छ ।
एमाले स्थायी कमिटीले गत सोमबार माओवादी नेतृत्वको प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको र सरकारमा सहभागी मन्त्रीलाई सरकार छाड्न निर्देशन दिएका बेला मन्त्रिपरिषद् विस्तार गरिएको हो । एमालेबाट सहभागी गराइएका सबै मन्त्रीहरु माधव नेपाल पक्षका हुन् ।

प्रतिक्रिया