काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही नभएको बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत रिजालले अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नभएको र जसपासँग बलमा भइरहेको बेला कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसकने बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन । किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन । बल जनता समाजवादी पार्टीसँग छ र जसपा चाहिं प्रधानमन्त्रीसँग सघन संवादमा छ । त्यसैले जसपासँग बल भइरहेको बेला कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन । फेरि त्यही प्रश्न आउँछः माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने वेलासम्म सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?’ शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया