काठमाडौं । सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सांसदहरुले प्रत्येक वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीलगायत गाउँगाउँमा इन्टरनेट सेवा पुर्याउनु सरकारको योजना व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसकी नेतृ तथा सांसद चित्रालेखा यादवले सबैभन्दा पहिला ग्रामीण क्षेत्रमा देखिएको टेलिकमको टावरको समस्या समाधान गर्न सरकारसँग अपिल गरिन् ।
पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले सरकारले अघि सारेको डिजिटल नेपालको फेर्मवर्कलाई पूर्णरुपमा सफल बनाउने गरी दूरसञ्चारको विकासमा जोड दिए।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने, “दूरसञ्चार कम्पनीले जनताको पैसा चोर्छ भन्ने गुनासो छ, कसैलाई फोन गरेको हुँदैन तर पैसा काटिरहेको हुन्छ, यो समस्या के हो ।”
प्रदेश नम्बर २ र वाग्मती प्रदेशका सांसद सहभागी सो कार्यक्रममा सांसद नवराज सिलवालले नेपाल टेलिकमले पैसा कमाएको छ, तर गुणस्तरीय सेवा दिन नसकेको बताए । सांसद गणेशकुमार पहाडीले डिजिटल नेपालकको आकांक्षा पूरा गर्नका लागि मिडियासम्बन्धी भएका ऐन÷कानूनलाई संशोधन गरी सञ्चारमैत्री बनाउनुपर्नेमा जोड दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधानका लागि लिखित सुझाव दिन आग्रह गरे । नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाललाई दूरसञ्चारमैत्री बनाउने उद्देश्यका साथ तीव्र गतिमा काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया