काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताएका हुन् । उनले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।
सभामुखले गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको बताए । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुद्र मन्थन भई संसदले पुनः गति लिएको उनले बताए ।
सभामुख सापकोटाले राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शन गरेको र ठूलाठूला सामस्याहरुको समाधान गरेको पनि बताए ।
संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने उनले बताए ।
अहिले केही अन्योलता देखिएपनि निराश हुनपर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए ।

प्रतिक्रिया