कांग्रेसले जोशीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने, १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने


काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले जोशीको निधनमा चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको हो ।

त्यसैगरी चैत्र १७ गते मंगलबार केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । त्यस्तै जोशीको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।

कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको जनाएको छ ।