काठमाडौं । नेपाली कांग्रेसले दार्चुलाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा भारतले एकतर्फी तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाल सरकारले त्यसलाई रोक्नुपर्नेमा मौन बसेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सुरूमै समय लिएर बोल्दै नेपाल सरकारलाई जानकारी नदिई भारतले तीन महिनादेखि तटबन्ध बनाइरहेकोले त्यो काम रोक्नुपर्ने बताएका हुन् ।
उनले भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको काम रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी भारतीय अधिकारीलाई आग्रह गर्दा सुनुवाई नभएको उनले बताए । उनले सरकार यसबारेमा कुनै पहल नगरी मौन बसेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले सरकारले कुटनीतिक माध्यमबाट पहल गरेर निर्माण कार्य तत्काल रोक्नुपर्ने माग गरे । उनले निर्माण कार्य नरोके नेपालको हजारौं हेक्टर जमिन जाने र सयौंको उठिबास लाग्ने बताए ।
उनले भने, ‘६ वर्ष अघि बाढी आउँदा एक हजार ४७ रोपनी जग्गा खोलाले बगाएको र नेपालको जमिन भारततर्फ पुगेको छ । यसबारेमा गृह मन्त्रालयमा पटक पटक भनिएको छ तर के गर्नु सरकार मौन छ । उनले नेपाल सरकारका तर्फबाट त्यहाँको निर्माण रोक्नेबारे के भइरहेको छ भन्नेबारे अर्को बैठकमा जानकारी माग पनि गरेका छन् । उनले केपी ओली सरकारले आफूलाई राष्ट्रवादी भन्ने गरेको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताए । राष्ट्रवादी सरकार भएको भए तीन तीन महिनासम्म मौन नबस्ने उनको भनाई थियो ।

प्रतिक्रिया