काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक संकटको समाधान संसद मात्र रहेको बताएका छन् ।
सोमबार नुवाकोटको शिवपुरीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले प्रधानमन्त्री केपी ओलीले संसदलाई विश्वासमा लिएर अगाडि वढनुपर्ने बताएका हुन् । दलहरुलाई विश्वासमा लिएर हिंडे ओलीको नेतृत्व क्षमता देखिनेसमेत उनले बताए ।
सरकारको काम गराइ र भनाइमा बिल्कुलै तादम्यता नमिलेको कारण वितेको तीन वर्षमा नेपाली जनता निरास भएका उनले बताए । ५ वर्षको लागि गठन भएको स्थिर सरकारले राजनीतिलाई थप अस्थिरतातर्फ धकेलेको भन्दै यस्तै अवस्था भइरहे मुलुकमा डरलाग्दो अवस्था आउने समेत बताए ।
आर्थिक सूचांकहरु सन्तोषजनक नहुनु, राजनीति अस्थिर हुनु,सरकारलाई विदेशी दातृ राष्ट्रहरुले विश्वास गर्न छोड्नु राम्रो संकेत नरहेको उनले बताए । आफ्नो घर झगडाको कारण नेकपा एमालेले मुलुकमा नाटक मन्चन गरिरहेकोप्रति कटाक्ष गर्दै जनताको जिविकाको सवालमा चिन्ता र चासो लिनुको साटो सरकार आफ्ना विरोधीलाई तह लगाउनेमा मात्र केन्द्रित रहेको उनले बताए ।

प्रतिक्रिया