काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला राखेर बैठक राख्न दवाव दिएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
सभापति देउवाले सोमबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । पौडेल पक्षको आइतबारको बैठकमा पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको बताइएको छ ।
त्यस्तै ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्नुपर्ने विषयलाई सोमबारको बैठकमा पनि ध्यानाकर्षण गराउने विषयमा छलफल भएको जनाइएको छ । नेता पौडेल अरू दलसँग मिलेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र कांग्रेसको १४औं महाधिवेशनबारे छलफल हुनेछ ।
कांग्रेस नेताहरुले केही दिनभित्रै माओवादी र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन गर्ने बताउँदै आएका छन्। तर, यस विषयमा कांग्रेस, माओवादी र जसपाबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया