एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने माओवादीको तयारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी आज बस्दैछ । केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका सांसदलाई कारबाही गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
जसमा ७ जना मन्त्री छन् । केन्द्रीय कमिटी बैठकको नाम दिइएको ओली समूहको बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो भने उनीहरुलाई फर्किने वा नफर्किने जवाफ दिन २४ घन्टे स्पष्टिकरण सोधेको थियो। । आज बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको छ ।
माओवादीले कारबाही गरेमा उनीहरुको सांसद पद गुम्नेछ । राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ मा दल त्यागसम्बन्धी व्यवस्था गरेको छ। जसको उपदफा (१) ‘ख’ मा अन्य दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने उल्लेख छ ।
दल त्याग गरेको व्यक्तिलाई सम्बन्धित दलको केन्द्रीय कमिटीले मात्रै कारबाही गर्ने व्यवस्था ऐनमा गरिएको छ । केन्द्रीय समितिले दलबाट निष्कासन गरेको जानकारी संसद सचिवालयमा दिनुपर्ने व्यवस्था गरिएको छ । संसद सचिवालयमा आएको सूचना सभामुख वा उपसभामुखले संसदमा पढेर सुनाएपछि वा संसद नचलेको अवस्थामा संसद सचिवालयले सूचना पार्टीमा टाँस गरेपछि सांसदको पद जाने व्यवस्था रहेको छ।