ओली सरकारसँग सहयात्रा हुँदैनः अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनैपनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पारेका छन् । संसद भवन नयाँबानेश्वर परिसरमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्यय भएको बताएका हुन् ।
उनले लोकतन्त्र, संघीय गणतन्त्रको रक्षाका लागि संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य हुने बताए । मधेसका मुद्दा सम्बोधन गर्ने शक्ति नेकपा एमाले नभएको विगतमा पुष्टि भएको भन्दै अध्यक्ष यादवले अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन नसक्ने बताए ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु केपी ओली समक्ष पटक पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताए ।
आफ्ना मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने नेता महतोले बताए । त्यसैगरी जसपाका अर्का नेता लक्ष्मणलाल कर्णले नेकपा एमालेसँग सत्ता समीकरणबारे छलफल गर्न कार्यदल नबनेको बताए ।