काठमाडौं । जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो ।
सांसद रेशम चौधरीको रिहाई,मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनिय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने नेता राजेन्द्र महतोले जानकारी दिए ।
उनले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि कांग्रेस र कम्युनिष्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने उधारो सहमति कसैसंग नहुने स्पष्ट पारे । उनले हामी सबैपक्षसँग वार्ता गरि अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताए ।
तत्काल अपरझट कुरा गर्नुपर्ने भएकाले दुईजना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रुपले पुर्णता दिने पनि उनले जानकारी दिए । उनले भोलि बुधबारसम्म वार्ता समितिलाई पूर्णता दिइने बताए ।
जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मंगलबार पहिलो पटक बसेको हो । संसदीय दलको वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसंगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रुपमा समायोजन भएको छ ।
बैठकमा दल संचालनका लागि नेता चयन र संसदीय समिति गठनको लागि विधानको मस्यौदा बनाई वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद महतोले जानकारी दिए ।

प्रतिक्रिया