काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशभर आगो लाग्ने डरले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको केहीबेरमै छाडिदिएको बताएका छन् ।
आइतबार तेह्रथुममा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले झाँक्रीलाई पक्राउ गरेर ओलीले सबैको मुटु छामेको बताए । उनले झाँक्रीलाई पक्राउ गरेपछि आफू र त्यसपछि प्रचण्डलाई गिरफ्तार गर्ने ओलीको योजना रहेको बताए । उनले भने, रामकुमारीलाई समात्ने पहिले । अनि माधव नेपाललाई गिरफ्तार गर्ने । अनि पुष्पकमल दाहाललाई पक्राउ गर्ने योजना रहेछ । कस्ता मान्छे , उनका फूर्ति र यीनका घुर्कीले डराउने मान्छे हौं हामी ? ज्ञानेन्द्रको त सातो लियौं हामीले यी कहाँका हुन् र तेह्रथुमका होइनन् र ?’
अध्यक्ष नेपालले ओलीले घरमा समस्या आएमा छलफल गर्नुपर्नेमा घरमै आगो लगाइदिएको बताए । प्रधानमन्त्री ओलीले संकटकाल लगाएर सेना परिचालन गर्ने योजना बनाइरहेको खबर आइरहेको भन्दै अध्यक्ष नेपालले त्यसो गरे झन् उनलाई त्यो प्रतिउत्पादक हुने बताए ।
उनले ओलीलाई बिमालेको संज्ञा दिए। उनले भने, ‘केपी ओली बिमाले मात्रै हुन् एमाले होइनन्, एमाले त माधव नेपाल उभिएको ठाउँमा छ । ’उनले त प्रचण्डको पिठ्युँमा चढेर, भर्याङ बनाएर प्रधानमन्त्री बनेर पुक्क लात्तीले हानेर हिँडे।’ केपी ओलीले बयलगाडा चढेर अमेरिका जान नसकिने बताइरहँदा आफूहरुले राजालाई फ्याँकेर गणतन्त्र ल्याएको जिकिर उनले गरे।

प्रतिक्रिया