जुलुसमा नारा लगाएर अदालतलाई दबाब दिन मिल्दैन : सभापति देउवा


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् ।

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अदालतमा विचाराधिन मुद्दाकाबारेमा दवाव दिन नमिल्ने बताएका हुन् । सभापति देउवाले काँग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको भन्दै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए ।

आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, “दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।”

कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्यविरुद्ध वडास्तरसम्म राष्ट्रव्यापी कार्यक्रम गरेको बताए । साथै उनले संविधानको व्यवस्थाविपरीत खोसिएको प्रतिनिधिसभा पुनःप्राप्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद् पुनःस्थापना र निर्वाचन दुई बाटो रहेको बताए ।