विराटनगर । प्रदेश एकको प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण माघ सात गते करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ ।
प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने बताएका छन् । १६ जना प्रदेशसभा सदस्य कारवाहीको विषय पहिलो बैठकमा प्रवेश गरेपछि सकिएको उनले बताए । प्रचण्ड–नेपाल समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
यता नेपाली कांग्रेसले पनि मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपाली कांग्रेसले संकेत दिएको छ । अविश्वासको प्रस्तावको पक्षमा उभिने कांग्रेसको संकेतपछि प्रचण्ड–नेपाल समूह आइतबारकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया