हिन्दूराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानु सकारात्मकः कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पश्चात् मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन् ।

राप्रपा प्रवास महासंघले आइतबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा राजसंस्था र हिन्दूत्वको धरातलमा उभिएर मुलुकमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार ,बेरोजगारी,धर्मपरिवर्तको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको बताए ।

सर्वोच्चमा बिचाराधीन बिषयमाथि दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र वक्तब्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानू र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सकृय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गरे ।

उनले प्रवासबाट महाधिवेशनमा सहभागिताको सुनिश्चित भएकोमा बधाई सहित खुशी प्रकट गरे। कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारी लगायत विभागका प्रमुख जिजय खड्काले समेत धारणा राखेका थिए । बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।