काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले एउटा सभामा सम्बोधनका क्रममा ’श्री ५ को सरकार’ भनेकोमा क्षमा मागेका छन् । मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा ’नेपाल सरकार’ भन्नुपर्नेमा ’श्री ५ को सरकार’ भनेका थिए ।
उनले समामाजिक संजाल फेसबुकमार्फत थापाले लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आमनेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ’सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।’


प्रतिक्रिया