ओली समूहसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्य छैनन्ः भीम रावल


काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता डा. भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै रावलले संविधानको कुनै पनि धारामा संसद विघटनको कुरा उल्लेख नभएको तर्क गरे ।

रावलले आफू वरिपरि बस्नेहरुले काम गर्न दिइएन भन्नुपनि गलत भएको टिप्पणी गर्दै निजगढ, पोखरा, भैरहवा विमानस्थल लगायतका आयोजना निर्माणमा कुनै अवरोध नभएको बताए । रावलले पार्टीको पुष १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए ।

भदौ २६ गते नेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि उक्त सहमतिमा अध्यक्षद्वय ओली र प्रचण्डको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओली पछि हटेको रावलले बताए । नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरे । उनले संसद विघटनको विरोधमा अदालतमा मुद्दा परेको सुनाउँदै यसमा अदालतले संविधानको सम्मान गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।