काठमाडौँ । सरकारले संसद् विघटन गरेपछि नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र लोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने निर्णय भएको उनले बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रुपमा तीन दल विरोधमा उत्रन सहमत भएको बताए । जसपाका नेता डा. बाबुराम भट्टराईले जसपा, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरूबीच सरकारको कदमविरुद्ध आन्दोलन गर्ने सहमति भएको जानकारी दिएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो । प्रम केपी ओलीको संसद विघटन गर्ने कदम संवैधानिक÷अलोकतान्त्रिक÷निरंकुश रहेको ठहर गरियो । यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो । यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो !’
बैठकमा कांग्रेसकातर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

प्रतिक्रिया