सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संसद अधिवेशन बोलाउनुपर्छ : यादव


उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी ।

सरकारले संसदको हिउँदे अधिवेशन नबोलाई संवैधानिक परिषदको बैठकको गणपूरक संख्या सम्बन्धी व्यवस्था अर्थात संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्दै राष्ट्रपति मार्फत अध्यादेश जारी गरेको छ ।

यसले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रपूर्वक ढङ्गले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्म माथि नै प्रहार गरेको छ ।

सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौति दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्दको भूमरीतर्फ धकेल्ने कार्य गरेको छ । सरकारको यस्तो गैर–लोकतान्त्रिक एवम् स्वेच्छाचारी कार्यको घोर भत्र्सना एवम् विरोध गरिनु पर्दछ। सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशिघ्र बोलाउनु पर्दछ ।