सरकारलाई उखु किसानका माग सम्बोधन गर्न विवेकशील साझा पार्टीको आग्रह


काठमाडौं । विवेकशील साझा पार्टीले उखु किसानका माग तत्काल सम्बोधन गर्न माग गरेको छ । पार्टीले आइतबार विज्ञप्ति जारी गरी उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेको सङ्घर्षमा आफ्नो पार्टीको पूर्ण ऐक्यबद्धता रहेको भन्दै माग सम्बधोन गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि मूलतः सरकार जिम्मेवार छ । गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो। तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाहा पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक छ।’

उसले काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि अनुरोध गरेको छ ।