सत्तारुढ नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
उनीहरुले बैठकका लागि प्रधानमन्त्रीलाई बिहीबारसम्म पर्खने बताएका थिए । यहीबीचमा दुई अध्यक्षको परामर्शमा शुक्रबारका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठक बोलाउन नमानेपछि प्रचण्डसहित पाँच सचिवालय सदस्यले लिखित पत्र नै बुझाएर सचिवालय बैठक बोलाउन माग गरेका थिए ।