कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २४ गतेसम्मका लागि स्थगित भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शुक्रबारका लागि तय बैठक कार्तिक २४ गते सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि पार्टी बैठक सारिएको बताइएको छ । पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६ बुँदे असहमति, राष्ट्रिय समसामायिक बिषय लगायतका बिषयमा छलफल भएको महतले जानकारी दिए ।
बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले अघि सारेको १६ बुँदे असहमतिका बारेमा टुङ्गो लगाएर मात्र केन्द्रीय समिति बैठक बस्ने बताए । सबै बिषयमा सहमति खोज्ने र त्यसपछि २४ गते केन्द्रीय समिति बस्ने उनले बताए ।
सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार पनि बस्ने भएको छ ।