सांसद केसीको निधनमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने
काठमाडौं । नेपाली कांग्रेसले सांसद सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको खड्काले बताए ।
बैठकमा स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि मौन धारण गरिएको थियो । केसीको कात्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नम्बर ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०१४ जेठ १० गते जन्मिएका के.सी. २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य बनेका थिए ।