गगन थापा ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा हिजो भएको प्रहरी दमनका सन्दर्भमा आज गुल्मीका पार्टीका थुप्रै साथीहरूसंग कुराकानी गरें । यो तात्कलिक परिस्थितिमा प्रहरीको प्रतिक्रियास्वरुप भएको घटना नभएर नियोजित ढङ्गले नै भएको हो । वर्तमान सरकारको जनता तर्साउने रवैयाको यो अर्को श्रृङ्खला हो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शान्तिपूर्ण रुपमा आफ्ना माग राख्ने र प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीको हस्तक्षेप खेदजनक छ । पछिल्लो समय न्यायको आवाज उठाउने र जनचासोका विषय राख्नेहरूलाई तर्साउने, धम्काउने र दुर्व्यवहार गर्ने प्रवृत्ति सरकारको दैनिकी जस्तै भएको छ ।
यस्तो गरेर जनताको मुख बन्द गर्छु भन्ने सरकारलाई लागेको हो भने गृहमन्त्री, प्रधानमन्त्रीज्यूलाई स्मरण रहोस-जनताको न्याय र अधिकारको आवाजलाई वल-बन्दुकले रोक्ने प्रयास ईतिहासमा धेरै पटक जनताले असफल गराइसकेको छन । अत: यस्ता किसिमका रवैया वन्द गर्न र गुल्मी घटनाको छानवीन गरी संलग्न दोषीलाई कारबाही गर्न सरकारसंग माग गर्दछु।
प्रहरी हस्तक्षेपमा परी घाइते हुनुभएका गुल्मी पार्टी सभापति भुवन श्रेष्ठ र प्रदेश-सभा क्षेत्रीय सभापति पूर्ण केसी लगायतका साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

प्रतिक्रिया