मानव बेचबिखन रोक्न सरकारले काम गरिरहेको छः मन्त्री गुरुङ


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकार मानव बेचबिखन र ओसारपसारविरूद्ध निरन्तर काम गरिरहेको बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारविरूद्ध राष्ट्रिय दिवसको सन्दर्भमा मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार अब व्यक्ति, परिवार, समुदाय वा कुनै दुई देश बीचको मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनिसकेका समेत बताए ।

उनले मानव बेचबिखन तथा ओसारपसारको अन्त्य सुसंस्कृत, सभ्य समाज र सामाजिक रूपान्तरण अबको गन्तव्य,’ का लागि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।

अझै पनि तीनै तहका सरकारलगायत न्यायका लागि लडिरहेका अधिकारवादीहरू, संघसंस्थाहरू र नागरिक समाजले गरेका प्रयास पर्याप्त नदेखिएको भन्दै उनले अमानवीय र दण्डनीय अपराध रोक्न हामी सबैको थप सक्रियता र प्रतिवद्धता आवश्यक रहेको बताए ।

मानव बेचबिखन जस्तो जघन्य अपराधलाई पूर्ण रूपमा अन्त्य गर्नु सरकारको लक्ष्य रहेको समेत उनको भनाइ छ । सार्क महासन्धी २००२ लाई विसं २०६३ साल भदौ २० गते प्रतिनिधिसभाले अनुमोदन गरेको सम्झनामा हरेक यो दिवस मनाइँदै आएको छ । कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पु¥याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।